‘सिभिल इन्जिनियर’ अध्ययन गरेर व्यावसायिक कागतीखेती रमाउँदै प्रतीक
दाङ | माघ २९, २०८१
दाङ: घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीक लोहनीले चार बिघा जग्गामा व्यावसायिक कागतीखेती गर्नुभएको छ ।
लामो समय अध्ययन तथा रोजगारीका सिलसिलामा अमेरिका बस्नुभएका उहाँले विगत दुई बर्षदेखि आफ्नै पुख्र्यौली थलोमा व्यावसायिक कागतीखेती गर्नुभएको हो ।
उहाँले तीन वर्षमा उत्पादन दिने सुन कागतीका बिरुवा गत वर्ष पर्वतबाट ल्याएर रोप्नुभएको थियो । गत वर्ष रोपेका केही बिरुवामा यो वर्षदेखि फल लाग्न सुरु गरेको भन्दै प्रतीक भन्नुहुन्छ, “सुन कागतीको बिरुवाले सामान्यतया रोपेको तीन वर्षदेखि उत्पादन दिने गरेको भनिन्छ तर यहाँ दुई वर्षमै कतिपय बिरुवामा फल लागेको छ ।”
बोट सानो भए पनि यो वर्ष लागेका फल परीक्षणका रूपमा रहन दिएको भन्दै उहाँले आगामी वर्षदेखि बिरुवाले व्यावसायिक रूपमा उत्पादन दिनेमा विश्वस्त रहनुभएको छ ।
सुन कागती व्यावसायिक खेतीका लागि राम्रो मानिएकाले आफूले पर्वतबाट ल्याएको बताउनुहुन्छ । तेरौटेमा रहेको करिब चार बिघा जग्गा भाडामा लिएर एक हजार पाँच सय ५० बिरुवा रोपेको लोहनी बताउनुहुन्छ ।
कागतीखेतीका लागि आवश्यक प्राङ्गारिक मलसमेत आफैँ उत्पादन गर्दै आउनुभएका लोहनीले कागतीखेतीमा गोडमेल तथा हेरचाह गर्न दुई जनालाई रोजगारी दिनुभएको छ ।
धेरै बिरुवा भएकाले एक्लै हेरचाह गर्न नसकिने र फार्ममा काम भइरहने भएकाले स्थानीय दुई जनालाई रोजगारी दिएको बताउनुहुन्छ । कागतीलाई बढाउँदै लग्ने सोचमा रहनुभएका उहाँले प्रतिकट्ठा वार्षिक रु तीन हजार तिर्ने गरेको बताउनुभयो ।
सुक्खा ठाउँ भएकाले थोपा सिँचाइ प्रविधिका माध्यमबाट प्रत्येक बोटमा पानी पुर्याउने व्यवस्था गर्नुभएको छ । विगत लामो समयदेखि उपभोग हुन नसकेको जमिनलाई खनजोत गरेर व्यावसायिक खेतीमा लाग्नुभएका लोहनी तेरौटे गाउँलाई ‘ग्रिन भिलेज’का रूपमा विकास गर्नेगरी लागेको बताउनुहुन्छ ।
त्यही सोचअनुसार तेरौटेमा अहिले कागती, टमाटरलगायत व्यावसायिक तरकारीखेती भइरहको उहाँ बताउनुहुन्छ । गाउँलाई ग्रिन भिलेजका रूपमा विकास गर्नका लागि पेसाले सिभिल इन्जिनियर भए पनि गाउँमै बसेर कागतीखेती गर्न थालेको बताउनुहुन्छ ।
अमेरिकाबाट फर्किएर केही वर्ष काठमाडौँमा अध्यापनसँगै हाइड्रोपावर कम्पनीमा काम गर्नुभएका लोहनीले भन्नुभयो, “अरुको मात्र कति काम गर्ने आफ्नो पनि केही काम गरौँ भन्ने सोचले कागतीखेतीमा जोडिएको छु”, अन्य तरकारीको तुलनामा कागतीमा रोग सङ्क्रमणको डर कमसँगै उत्पादन बढी लिन सकिने र उत्पादन बिक्रीका लागि समस्या नहुने भएकाले कागतीखेतीमा लागेको उहाँ बताउनुहुन्छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...
काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

